
काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ । थप जेल बस्नुपर्ने समय निर्धारण गर्न उनलाई बिहान १० बजे अदालत पेश गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले जानकारी दिए ।
उनका अनुसार रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा पनि कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्ने छ ।
यी दुबै निकायले निर्णय नगरे रिगललाई जिल्ला कारागार बाँकेमै पठाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना पनि एसपी बोहोराले बताए।
नेपालगञ्जका चेतन मानन्धरको दिादहाडै खुँदा हानी हत्या गरेर जेलमा रहेका उनी असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका थिए । तर, चेतन पत्नी भारतीले हालेको रिटमा बिहीबार सर्वोच्च अदालतले सुनुवाइ गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो ।
त्यसको दुई घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए । रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए ।














