काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।

बैठकले निमा तामाङको नाममा झुठो विवरण पेश गरि जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नागरिकता र देवराज धमलाको नाममा झुठो विवरण पेश गरि कालिकोटबाट जारी भएको नागरिकता रद्ध गरि नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तराष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै, बैठकले यूएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गर्ने र कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।














