विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा माओवादी र एकीकृत समाजवादी सहभागी हुने भएका छन् । मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेको सहमतिविपरीत माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरेको हो । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
माओवादी र एकीकृत समाजवादीबाट १–१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका प्रवक्ता शमशेर राईले बताएका छन् । उनका अनुसार आजै नियुक्तिको तयारी गरिएको छ ।

कांग्रेसबाट विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले यसअघि एमाले र नेपाली कांग्रेसका एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई कात्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए ।
विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमालेमात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । तर, एमालेले माओवादीलाई सरकारमा सहभागी गराउन नहुने अडान राख्दै आएको थियो । यसैबेला मुख्यमन्त्री कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।











