
काठमाडौं । गएराति जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि घाइत भएकाहरुको तिव्र उदार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ ।
गएराति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पमा परि हालसम्म एक सय ५० भन्दा बढिले ज्यान गुमाइसकेको जनाइएको छ भने २३१ जना घाइतेको उद्धार गरी उपचाररत गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
भुकम्पबाट प्रभावितको उद्धार र राहतका लागि तिनै तहका सुरक्षाकर्मी र जनप्रतिनिधि खटिएका छन् ।
गृह मन्त्रालयमा आज बिहान उपप्रधान एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भुकम्पका घाइतेको उपचारका लागि भेरि अस्पताललाई तयारी अवस्थामा राखेको छ ।
हाल घाइतेहरुको नेपालगञ्ज अस्पताल, भेरी अस्पताल र जाजरकोटकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ। भुकम्पमा परि घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने बताइएको छ ।
























