Logo
Logo

डनको आडमा २५ करोड भुक्तानी नदिई ६ सय मजदुर निकाल्दै होटल

क्यासिनो रोयलका मजदुर बिरुद्ध याक एण्ड यति होटलमा गुण्डाको लर्को


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ माघ । क्यासिनो रोयलका ६ सय जना मजदुरलाई श्रम ऐन विपरीत अन्यायपूर्ण रुपमा निस्कासन गर्न लागिएको छ । गिल्ट इन्भेष्टमेन्ट प्रालि द्वारा संचालित रोयल क्यासिनोमा २७ बर्षदेखि कार्यरत मजदुरहरुलाई ७५ महिनाको संचयकोष, उपदान र सामाजिक सुरक्षा कोषको रकम समेत नदिई निस्कासन गर्ने तयारीमा होटल याक एण्ड यतिका संचालक लागेका लागेका छन् ।

होटल याक एण्ड यतिले क्यासिनो रोयलको संचालन गर्ने कम्पनी गिल्ट इन्भेष्टमेन्ट प्रालिलाई ठाउँ छाड्न निर्देशन दिंदा ६ सय मजदुरहरुले पाउनुपर्ने २५ करोड रुपैयाँ नपाउने अवस्था सृजना भएको छ । यसरी होटलले गिल्टलाई ठाउँ छाड्न सूचना दिएर अर्को कम्पनीलाई क्यासिनो संचालन गर्न दिने र मजदुहरुलाई भने निस्कासन गर्न लागिएको छ ।

पाउनुपर्ने सुविधा समेत नदिई मजदुरहरुलाई निस्कासन गर्न याक एण्ड यति होटलका संचालक राधेश्याम सर्राफ र अर्जुन सर्राफ लागेका छन् ।
संचयकोष, उपदान र सामाजिक सुरक्षा कोषको २५ करोड रुपैयाँ नदिई क्यासिनो संचालन गर्ने कम्पनीलाई ठाउँ छाड्न सूचना दिएको भनी मजदुर निस्कासन गर्न होटल याक यतिका संचालक सर्राफ लागेका छन् । जसको बिरोधमा क्यासिनो रोयलमा कार्यरत मजदुहरु उत्रिएपछि क्यासिनो बेल्लिजका संचालक ज्ञानेन्द्र श्रेष्ठ भनिने बाबाको नेतृत्वमा गुण्डा बोलाएर मजदुरहरुलाई कुटपीट नै गरी लखेट्ने योजनामा सर्राफ लागेका छन् । याक एण्ड यति होटलका संचालक सर्राफले त्यसका लागि ज्ञानेन्द्र श्रेष्ठलाई गुण्डा ब्यवस्थापन गर्ने जिम्मा दिएका छन् । बिहीबार होटल याक एण्ड यति परिसरमा गुण्डा र प्रहरीको बाक्लो संख्या तैनाथ गरिएको थियो ।

क्यासिनो रोयलका मजदुरहरुको गिल्ट इन्भेष्टमेन्टले श्रम ऐन अनुसार संचयकोष र उपदान समेत विभिन्न सुविधाबापत करिब २५ करोड रुपैयाँ दिनुपर्नेछ । तर मजदुरहरुले पाउनुपर्ने उक्त सुविधा नदिई गुण्डागर्दी गरी निस्कासन गर्ने षडयन्त्रमा सर्राफ र क्यासिनो रोयलका संचालक गोबद्र्धन लामिछाने लागेको गुनासो मजदुरहरुको छ । क्यासिनो रोयलका संचालक लामिछाने पछिल्लो समयमा क्यासिनोमा आउँदैनन् । मजदुहरुले उनीसँग भेट्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् । याक एण्ड यति होटलका संचालक सर्राफले क्यासिनोको जग्गा अर्कैलाई दिनका लागि ६ सय मजदुरको बिचल्ली पार्न लागेका छन् ।

होटल संचालक सर्राफ र क्यासिनोका लामिछानेले होटल परिसरमा गुण्डा र प्रहरीलाई तैनाथ गरी मजदुरलाई बिरोधमा उत्रनै नदिने रणनीति अंगिकार गरेका छन् । रोयल क्यासिनोमा ३ सय ४३ नियमित तथा स्थायी २ सय करार तथा अस्थायी कर्मचारी छन् । यी मजदुर नेपाल रिक्रियसन सेन्टरका तत्कालीन संचालक आरडी टटल र राकेश बादवाले क्यासिनो संचालन गर्दादेखिकै काम गर्दैआएका छन् ।

रिक्रियसनले संचालन गर्न नसक्ने भएपछि मजदुरहरुको उपदान, संचयकोष लगायतका रकम तथा सेवावधिसमेत जोडिनेगरी तत्कालीन श्रम ऐन २०४८ को दफा ८ अनुसार स्वामित्व परिवर्तनले श्रमिकको दायित्वमा असर नपर्नेगरी कानुनी ब्यवस्था गरेको थियो । र, त्यही ब्यवस्था अनुसार श्रमिकहरु पहिलेदेखिकै रहे, संचालक कम्पनी परिवर्तन भएको थियो । सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्ट प्रालिले मजदुरहरुको साविककै पारिश्रमिक सेवा सुविधा समेत बहन गर्नेगरी क्यासिनो रोयल संचालन गर्दैआएको छ ।

यसैबीच, याक एण्ड यति होटलले गिल्ट इन्भेष्टमेन्टलाई क्यासिनो रोयल रहेको स्थान छाड्न सूचना दिएको जानकारी दिएको छ । तर गिल्टका मजदुरहरुको संचयकोष, उपदान र सामाजिक सुरक्षाकोषबापतको २५ करोड रकमको दायित्व कसैले नब्यहोरी श्रमिकलाई बिचल्ली पार्नेगरी काम अगाडि बढाएको छ । जसका कारण मजदुर अन्यायमा पर्ने भएका छन् । क्यासिनो रोयलको संचालन गर्ने मुख्य जिम्मेवारी र लाइसेन्स होटल याक एण्ड यति को भएको र उसले गिल्ट इन्भेष्टमेन्टसँग सम्झौता गरी मजदुरलाई काममा लगाएको भनाइ कर्मचारीको छ ।

सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्टको मातहतमा रही करिब दस बर्ष काम गरेको र अब यसपछि यसै कम्पनी वा अरु कुनै कम्पनीमार्फत् नै काम गरे गराएमा समेत श्रम ऐन २०४८ को दफा ८ तथा श्रम ऐन २०७४ को दफा १४ बमोजिम स्वामित्व परिवर्तनले श्रमिकहरुको सेवा सर्त र सुविधामा कुनै प्रतिकूल असर नपर्ने कुरा निर्विवाद रहेकोबारेमा पनि होटल ब्यवस्थापनको ध्यानाकर्षण क्यासिनो रोयलका ट्रेड युनियनले गराइसकेका छन् ।

मजदुरहरुको हालसम्म पाउनुपर्ने करिब २५ करोड रकम गिल्ट इन्भेष्टमेन्ट र होट याक एण्ड यति दुवैबाट एकीन गर्न लगाई भुक्तानीको ब्यवस्था गराउन माग गर्दै श्रम तथा रोजगार कार्यालयमा हालै निवेदन दर्ता भएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा ब्यवसायजन्य स्वास्थ्य विभाग, सामजिक सुरक्षाकोष, होटल याक एण्ड यति, गिल्ट इन्भेष्टमेन्ट प्रालि, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालय र पर्यटन विभागलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्