
काठमाडौं । जाजरकोट भूकम्पका कारण देश नै शोकमा डुबेको छ । हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १९७ जनाभन्दा धेरै घाइते भएका छन् ।
सरकार, निजी क्षेत्र र स्वदेश तथा विदेशमा रहेका सरकारी तथा गैरसरकारी संस्थाहरू भूकम्पपछिको उद्धार र राहतमा जुटेको बेला महानायक उपाधि पाएका राजेश हमाल भने ‘मधु मस्ती’मा रमिरहेका छन् ।
श्रीमती मधु भट्टराईसँग एक रेस्टुरेन्टमा खिचेका १३ वटा तस्बिर फेसबुकमा सेयर गर्दै महानायक हमालले ‘मधु मस्ती…’ लेखेका छन् । तस्बिरमा केही व्यक्ति र रेस्टुरेन्टका कर्मचारीहरू पनि देखिएका छन् ।
देश शोकमा डुबेको बेला महानायकको उपाधि पाएका कलाकारले नै …मस्ती भन्दै तस्बिर पोस्ट गरेपछि कमेन्टमार्फत धेरैले हमाललाई गाली गरिरहेका छन् ।
उनको पोस्टमा अधिकांशले ‘देश रोइरहेको बेला यो मस्तीको मूल्य महँगो पर्ला’, देश रोइरहेको बेला यस्तो मस्ती गर्ने कस्तो मानवता हराएको’ भन्दै आलोचना गरेका छन् ।














