
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्प प्रभावितहरूका लागि २५ लाख लिदने निर्णय गरेको छ ।आइतबार बिहान बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट सरकारलाई २५ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै सो पार्टीका प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने हालसम्म २५० बढी घाइते भएका छन् ।














