Logo
Logo

पर्सा मालपोतका तत्कालीन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीहरूविरूद्ध मुद्धा दायर गरेको हो ।

आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरी परेपछि उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार अधिकृत हरिनारायणले दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

यस्तै भुपबहादुरले एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, गोपालबहादुरले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसादले १६ लाख ८१ हजार ६०० रूपैयाँ, चन्द्रबहादुरले २ लाख ४४ हजार ४६२ रुपैयाँ, कमोदले एक करोड ४१ हजार ४७ हजार १७१ रुपैयाँ र नासु किरणप्रसादले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । उनीहरुलाई बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

किरणप्रसाद र उनकी श्रीमतीको मृत्यु भइसकेकाले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम उनका छोराहरुबाट उक्त रकम असुल गर्न अख्तियारले प्रतिवादी बनाएको छ । अख्तियारले उनका ४ जना छोरा राजकिशोर, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्