काठमाडौं । मोर्चा समाजवादी नेपालले जाजरकोटमा केन्द्रबिन्दु भएर शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत, उपचार र पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।
भूकम्प भएको चार दिनपछि सोमबार मोर्चाले बल्ल भूकम्प प्रभावितहरुलाई सहयोग गर्न विज्ञप्तिमार्फत आह्वान गरेको हो ।
मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै जाजरकोटमा १७ गते गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत, उपचार र पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका हुन् ।

साथै, समाजवादी मोर्चाले विपत्तिमा परेका नागरिकलाई मानवीय सेवा तथा सहायता उपलब्ध गराउन देशका तीनै तहका सरकारसहित जनप्रतिनिधि, रेडक्रस तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु, सुरक्षा संयन्त्र र देशविदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीसँग आह्वान गरेको छ ।
सत्तामा आवद्ध दलहरुको मोर्चाले संकटको घडीमा उद्धार, राहत र पुर्नस्थापनामा आवश्यक पहलकदमी लागि मोर्चा आबद्ध नेता कार्यकतालाई आह्वान गरेको हो ।















