Logo
Logo

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने भएको छ । मबार बसेको पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।

एकीकृत समाजवादीले उक्त रकम पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको छ । पार्टीले भुकम्प प्रभावितको लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको जनाएको छ ।

प्रचार प्रमुख खतिवडाले भने, ‘पार्टीका कार्यकर्ताबाट आर्थिक सहयोग संकलन गरी सरकारी राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय भएको छ । उक्त प्रयोजनका लागि केन्द्र, प्रदेशका मन्त्री, जनप्रतिनिधिबाट १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’

साथै, बैठकमा असोज महिनामा सो पार्टीले गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा गर्दै त्यसक्रममा १० हजार २७४ बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाले अभियान उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले गत असोज १४ देखि २८ गतेसम्म मेची महाकाली जागरण अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्