विराटनगर । कोशी प्रदेश सरकारलाई प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुला भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको हो ।
बजेट अध्यादेश पारित भएसँगै अब प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको र तिहारलगत्तै प्रतिस्थापन विधेयक ल्याइने गठबन्धनका नेताहरुले बताएका छन् ।

नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गर्न यो अध्यादेश पारित गर्नुपर्थ्यो । अब मंसिर १६ भन्दा अघि प्रतिस्थापन विधेयक आउनेछ ।’ यसअघि प्रदेशमा एकपटक बजेट शून्यताको अवस्थासमेत आएको थियो ।
प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।
अध्यादेश अस्वीकृतिको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएपछि अध्यादेश स्वीकृत भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि (मंगलबार) बस्दैछ ।