Logo
Logo

इजरायल-हमास युद्धमा मारिएका १० नेपाली विद्यार्थीको शोकमा दीप प्रज्वलन


378
Shares

काठमाडौं । इजरायल–हमास युद्धमा मारिएका १० नेपाली विद्यार्थीको शोकमा नेपालका विद्यार्थीहरूले दीप प्रज्वलन गरेर शोक व्यक्त गरेका छन् । काठमाडौंको डिल्लीबजारमा अवस्थित एसफोडेल पब्लिक स्कुलका विद्यार्थीहरूले शोकमा दीप प्रज्वलन गरेका हुन् ।

इन्टरनेशनल युथ पिस ग्रुप (आइपीवाईजी)ले आयोजना गरेको उक्त कार्यक्रममा एसफोडेल पब्लिक स्कुलका कक्षा ९ र १० कक्षामा अध्ययनरत करिब ३० जना विद्यार्थी सहभागी थिए ।

नेपालको सबैभन्दा ठूलो चाड दसैँ र तिहारको समयमा अन्य देशमा भएका भीषण युद्धको सम्झना र इजरायल–हमास युद्धमा मारिएकाहरूप्रति दीप प्रज्वलन गरेर उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको आइपीवाईजीले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईपीवाईजी नेपालका निर्देशक हाइजु पार्कले युद्धले कहिल्यै निको नहुने घाउ बनाएर जाने भन्दै सबैलाई शान्तिको दूत बन्न आह्वान गरेका थिए । उनले भने– ‘युद्धमा जित र हार मात्र हुँदैन, निर्दोष नागरिकको बलिदान हुन्छ, कसैले निको पार्न नसक्ने घाउ छोडेर जान्छ । शान्तिका लागि बोलेर मात्र हुँदैन । शान्तिका लागि काम नगरेसम्म शान्ति प्राप्त हुँदैन । शान्तिका लागि आफै अग्रसर नभएसम्म त्यो पीडा हामी वा हाम्रो परिवारलाई पनि पर्न सक्छ । त्यसैले हामी सबै शान्तिका दूत बनौँ, आफ्नो घरमा माया र सम्मानका साथ कर्तव्य पूरा गरौँ ।’

कार्यक्रममा एसफोडेल पब्लिक स्कुलका विद्यार्थी परिषद् अध्यक्षले ‘शान्तिका लागि विद्यार्थीको शक्ति’ भन्ने विषयमा प्रस्तुति राखेका थिए । कार्यक्रममा विद्यार्थीहरूले इजरायल–हमास युद्धसँग सम्बन्धित भिडियो हेरेपछि युद्ध पीडित र नेपालको पश्चिम रुकुम र जाजरकोटका भूकम्पमा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरे । उनीहरूले ‘युद्धमा कसैको जित हुँदैन, युद्धहरू रोकौँ’ जस्ता नाराहरू लगाएका थिए । 

विद्यार्थीहरूले इजरायल–हमास युद्धमा ज्यान गुमाएका १० नेपाली विद्यार्थी र यस युद्धमा मारिएका ५ हजारभन्दा धेरै नागरिकहरूप्रति श्रद्धा अर्पण गर्दै यो दुःख नबिर्सने र शान्तिका लागि आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन् । 

आइपीवाईजी विश्व शान्ति लागि स्थापित संस्था एचडब्लुपीएल र युद्ध अन्त्यका लागि स्थापित अन्तर्राष्ट्रिय एनजीओमा सम्बद्ध संस्था हो । आईपीवाईजीले विश्वभरका युवाहरूसँग शान्ति संवाद, शान्ति पत्र र शान्ति शिक्षा जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्