Logo
Logo

साल्ट ट्रेडिङबाट खुद्रा व्यापारीले ‘एक हजार किलो’ चिनी पाउने, तिहारमा उपभोक्तालाई अभाव नहुने


1.2k
Shares

काठमाडौं । तिहारलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय व्यापारीहरूलाई चिनी वितरण सुरु गरेको छ । अब साल्ट ट्रेडिङबाट एक खुद्रा व्यापारीले एक हजार किलो चिनी खरिद गरेर बिक्री गर्न पाउने भएको छ ।

उपभोक्ताहरूलाई खुद्रा पसलहरूबाट चिनी किन्न सजिलो होस् भन्ने उद्देश्यले प्रत्येक खुद्रा व्यापारीलाई एक हजार किलो चिन उपलब्ध गराइएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिए । 

साल्ट ट्रेडिङबाट चिनी खरिद गर्न चाहने खुद्रा व्यापारीहरूले आफ्नो फर्म दर्ता भएको प्रमाणपत्र, भ्याट वा प्यानको प्रमाणपत्र लिएर साल्ट ट्रेडिङ पुग्नु पर्ने हुन्छ ।

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई प्रति किलो ११२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरेको छ । यो बजार मूल्यभन्दा करिब २५ देखि ३० रुपैयाँ कम हो । अहिले बजारमा १४० देखि १५० रुपैयाँसम्ममा चिनी बिक्री हुँदै आएको छ । साल्ट ट्रेडिङको चिनी बजारमा जान थालिसकेकाले अब चिनीको मूल्य धेरै घट्ने विभागीय प्रबन्धक झाको भनाइ रहेको छ । 

झाका अनुसार साल्ट ट्रेडिङले सुपर मार्केटहरूलाई पनि चाहे जति चिनी उपलब्ध गराइरहेको छ । उनले भने– ‘स्थानीय खुद्रा व्यापारीहरूलाई मात्र होइन, ठूला सुपर मार्केटहरूलाई पनि मागे जति चिनी उपलब्ध गराइरहेका छौँ । अब बजार सहज हुन्छ ।’

प्रत्येक वर्ष दसैँ तथा तिहारमा चिनी अभाव हुने गरेको छ । नेपालमा उत्पादित चिनीले मात्र माग धान्न सक्दैन । बजारको माग धान्न अन्य देशबाट चिनी आयात गर्नुपर्ने हुन्छ ।

विदेशबाट चिनी आयात गरेर बजार धान्नुपर्ने अवस्था रहे पनि सरकारले समयमै चिनी आयातबारे निर्णय नगर्दा प्रत्येक वर्षको दसैँ तथा तिहार र अन्य ठूला चाडहरूमा चिनीको हाहाकार हुने गरेको छ । जसको फाइदा कालोबजारीहरूले लिने गरेका छन् । 

कहाँबाट आयोग निची ?

दसैँमा उपभोक्ताले चाहे जति चिनी पाएका थिएनन् । नेपालको उत्पादनले बजार नधान्ने र विदेशबाट चिनी आयात गर्ने सन्दर्भमा सरकारले समयमै निर्णय नगरेका कारण दसैँमा चिनीको समस्या भएको हो ।

तिहारका लागि भने सरकारले चिनी जोहो गरेको छ । सरकारको समन्वयमा साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन चिनी पाएको छ । उक्त चिनी सरकारले एभरेस्ट सुगर मिल, महोत्तरीबाट उपलब्ध गराएको झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्