
काठमाडौं । भारत सरकारको अनुदानमा निर्मीत मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ ।
नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले बर्थिङ सेन्टर मंगलबार अस्पताललाई हस्तान्तरण गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त बर्थिङ सेन्टरको संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा भारतीय अनुदान सहयोगअन्तर्गत नेपालका बैतडी र मुस्ताङमा अनुमानित लागत १३ करोड रुपैयाँ लागतका थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको दूतावासले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नेपालकै प्रतिष्ठित चिकित्सा संस्थामध्ये एक हो । नेपाल–भारत विकास सहकार्य ढाँचा अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारले ४.४०४ करोड रुपैयाँ लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ सेन्टरको निर्माण गरेको हो ।
भारतले कोभिड–१९ महामारीको समय र यस अस्पतालका विभिन्न विभागलाई २ थान ४० केभीए डिजल जेनेरेटर, ५ वटा बस र २ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।














