Logo
Logo

वानेश्वर वृत्तले किन छाड्यो फरार अभियुक्त ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ माघ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले एक फरार अभियुक्तलाई पक्राउ गरेर चलखेलका आधारमा छाडेको खुलेको छ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएका मेनपावर सञ्चालकलाई बानेश्वर वृत्तका डिएसपी दुर्गा रेग्मीले छाडिदिएका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरी जेल चलान गराएको छ ।


बि एण्ड बि एचआर मेनपावरका सञ्चालक अजय तामाङलाई बानेश्वर वृत्तले पक्राउ गरी छाडिदिएको हो । आर्थिक चलखेलका आधारमा उनले छाडिदिएको खुलेको छ । उनलाई सिआईबीले शनिबार पक्राउ गरी जेल चलान गराएको छ । उनलाई अदालतले चार लाख ५० हजार जरिवानाको फैसला भइसकेको खुलेको छ । अहिले पनि उनले दर्जनौं युवाहरुलाई ठगी राखेका छन् ।
तामाङविरुद्ध वैदेशिक रोजगार विभागले गत २४ पुसमा प्रहरी प्रधान कार्यालयको नाममा आवश्यक कारबाही गर्न भन्दै पत्र लेखेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालका नाममा जारी पत्रमा लेखिएको छ, ‘बी एन्ड बी एचआर म्यानेजमेन्ट संस्थाका सञ्चालक अजय तामाङसमेत वैदेशिक रोजगार ऐन ०६४ को दफा आकर्षित हुने गरी विभागको अनुमति लिई वैदेशिक रोजगारको कार्य अघि बढाउनुपर्नेमा सो नगरी कानुनविपरीत व्यक्तिलाई घाना, जापा पठाउने भनी रकम असुल गरेको र कतिलाई विभिन्न मुलुक र्पुयाई घाना लगेको र कतिलाई जापान पठाउने भनी रकम असुल गरेको देखिन्छ । संस्थागत आडमा कामदारलाई नै गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न भएको देखिँदा संस्थाका सञ्चालकविरुद्ध विस्तृत अनुसन्धान गर्न आवश्यक कागजातसहित पठाइएको छ ।’

घानामा तीन महिना अलपत्रपछि नेपाल फर्किएका काभ्रे बनेपा–१० का ३७ वर्षीय राममिलन राउतले प्रहरीले पीडितको जाहेरी नै नलिएको बताए । उनले भने, ‘पक्राउपछि हामी बिहीबार दिनभर प्रहरी वृत्त बानेश्वर थियौँ । पीडित साथीहरूले जाहेरी दिन खोजे । कतिपयले कानुन व्यवसायीलाई लेख्न लगाएर जाहेरी दिन खोजे, तर दर्ता गराउन खोज्दा प्रमाण नभएको भन्दै वैदेशिक रोजगार विभाग जाने भनियो । विभागले पनि सबै काम प्रहरीबाटै हुने भनेर यतै फर्काउने काम र्गयो । दिनभर यता र उता गर्दै दिन बित्यो । अन्त्यमा प्रहरीले पक्राउ गरेको मान्छेलाई नै छाडिदियो ।’

१८ युवा तीन महिना घानामा अलपत्र
राउतका अनुसार म्यानपावरले प्रतिमहिना १५ सय ७० अमेरिकी डलर कमाइ हुने प्रलोभन बाँडेको थियो । सोही प्रलोभनपछि युवाहरू प्रतिव्यक्ति आठदेखि १० लाख रुपैयाँ बुझाउन तयार भएका थिए । भिजिट भिसामा दुबई हुँदै घाना पुगेपछि पो युवाले आफू ठगिएको भेउ पाएका थिए । त्यसबेलासम्म म्यानपावरले घानामा १८ युवालाई अलपत्र पारिसकेको थियो । जापान, माल्दिभ्स, फ्रान्स, क्यानडालगायतका मुुलुक लैजाने भन्दै सयभन्दा धेरै युवाबाट म्यानपावरले पाँच करोड रुपैयाँभन्दा धेरै रकम असुल गरिसकेको थियो । तीन महिना विदेशमा अलपत्र परेपछि फर्किएका राउतले भने, ‘हामी घाना पुग्यौँ । त्यहाँ हामीजस्तै अन्य १८ युवा पनि थिए । उनीहरू सबै एउटै म्यानपावरबाट त्यहाँ पुगेका रहेछन् । त्यहाँ हामीलाई तालिम दिने भनेको थियो । त्यो पनि दिएन । न सेक्युरिटी गार्डमै नियुक्त र्गयो । बुझ्दा उनीहरूले भनेको कम्पनी नै नक्कली रहेछ । बल्ल ठगिएको महसुस र्गयौँ ।’

जापान लैजाने भन्दै ३७ युवा ठगी
मासिक दुई हजार तीन सय १० अमेरिकी डलर कमाइ हुने प्रलोभनपछि काभ्रे रोसीका ३५ वर्षीय भीमबहादुर मगरले बी एन्ड बी म्यानपावरमा पाँच लाख रुपैयाँ बुझाए । उनले म्यानपावर सञ्चालक अजय तामाङको बैंक खातामै पैसा हालेका थिए । तर, न उनको जापान जाने सपना पूरा भयो, न त फसेको रकम नै उठ्न सक्यो । पैसा बुझाएको रसिद हातमा लिएर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर धाइरहेका उनले  भने, ‘ऋण गरेर पाँच लाख रुपैयाँ जम्मा गरेँ । सरक्क ल्याएर म्यानपावरलाई बुझाएँ । रसिद पनि लिएँ । तर, जापान लगेन । पक्राउपछि उनीविरुद्ध यही रसिद राखेर जाहेरी दिन खोजेँ । तर, प्रहरीले प्रमाण पुग्दैन भन्दै जाहेरी नै लिन मानेन ।’ मगरका अनुसार सो म्यानपावरले जापान लैजाने प्रलोभनमा कम्तीमा ३७ युवालाई ठगेको छ ।

प्रतिक्रिया दिनुहोस्