
ललितपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएका छन् ।
दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा बाेल्दै उनले पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देश तथा सूचनाले समाज दूषित बनाइरहेको बताएका हुन् ।
उपाध्यक्ष भुसालले भने, ‘जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।’
सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिए ।
लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भने, ‘पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।’ उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरे ।














