काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु न्यायको माग गर्दै धर्नामा बसेका छन् । काठमाडौंको माइतीघरमा साह सहित आजपाका नेताकार्यकर्ता समेत आज धर्ना बसेका हुन् ।
न्यायको माग गर्दै विगत १४६ दिनदेखि धर्नामा बसेको आरती साहको परिवारको माग यथाशीघ्र सम्बोधन गर्न उनले सरकारसँग माग समेत गरेका छन् । यस अघि समेत आजपा अध्यक्ष साह माइतीघर पुगेर उनको संघर्षप्रति समर्थन गर्नुका साथै संसद्मा समेत पटकपटक आवाज उठाउँदै आएका छन् ।

लामो समयदेखि धर्नामा बसेको आरती साहको परिवारलाई न्याय दिनमा ढिलाई गरेको, संसद्मार्फत समेत आवाज उठाउँदा सुनवाई नगरेको भन्दै उनले आफै माइतीघरमा गएर धर्ना बसेका हुन् ।
माइतीघरमा धर्ना बस्न पुगेका आजपा अध्यक्ष साहले यथाशीघ्र वार्ताद्धारा सरकारले उनीहरूको माग सम्बोधन नगरे यो भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिए ।
‘पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारूपमा हामी लगायत आम न्यायकर्मीहरूको सक्रिय साथ – सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वास सहित सरकारलाई छिटै वार्ता–संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु’ साहले भने ।
पार्टीको निर्णय अनुसार आजपाले नेपाल मानव अधिकार आयोगलाई यस बारेमा बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै छ । लामो समयदेखि धर्ना दिँदा समेत माग सम्बोधन गर्नमा सरकारले चासो नदिएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् ।
आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । जनकपुर उपमहानगरपालिका–९ थापाचोकका मोदीबाबु साहसँग विवाह गरेकी आरतीलाई दाइजो थोरै ल्याएको भन्दै उनको परिवारले हत्या गरेको आरतीका आमाबाबुको आरोप छ ।
घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै आरतीका आमाबाबु लामो समयदेखि माइतीघरमा धर्नामा छन् । गृहमन्त्रालयले आरतीका बाबुआमालाई वार्तामा आउन गत सोमबार पत्र काटेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।














