Logo
Logo

मुख्यमन्त्री कार्कीले भने- एमालेसँग सहकार्य छोडेको छैन



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । बिहीबार सांसदहरुको प्रश्नको जवाफमा उनले एमाले आफैं सत्ता छाडेर प्रतिपक्षको कुर्सीमा गएर बसेको बताएका हुन् ।

प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैं सत्ता छाडेर प्रतिपक्षको कुर्सीमा गएर बसेको जगजाहेर छ ।’ सोक्रममा उनले एमालेलाई सरकारमा सहभागी हुनसमेत आह्वान गरे ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले एमालेका मन्त्रीहरुलाई विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहणसमेत गराएका थिए । तर, केन्द्रको गठबन्धनलाई पनि मन्त्री नियुक्त गरेपछि एमालेले सरकार छाडेका थिए । तर, सरकारलाई दिएको समर्थन भने कायम राखेको छ ।

बिहीबार प्रदेशसभा बैठकमा एमालेका बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री कार्कीले केन्द्रको मुख ताकेर एमालेले लगाएको गुन बिर्सिएको टिप्पणी गरेका थिए ।

‘जंघार तरेर लौरो बिर्सिएको’ भन्ने राजभण्डारीको अभिव्यक्तिमा मुख्यमन्त्री कार्कीले भने, ‘खोलो तरेर लौरो बिर्सिएको छैन । मैले एमालेसँगको सहकार्य छोडेको छैन ।’ उनले केन्द्रको मुख पनि नताकेको बताए । ‘केन्द्रको मुख ताकेको भए एमालेसँगको सम्बन्ध छोडेर गठबन्धनको मात्र बनाउँथे होला’ उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले एमालेबाट बनेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले अघि सारेको सहमति र सहकार्यको एजेण्डालाई पछ्याएको समेत बताए । उनले भने, ‘मैले एमालेबाट भएको अघिल्लो मुख्यमन्त्रीकै एजेण्डालाई निरन्तरता दिनलाई सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउनको लागि निरन्तरता दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्