Logo
Logo

अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् ।

संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका काममा समेत संघीय सरकारले हस्तक्षेप गरेको उनको गुनासो छ ।

प्रदेशका अधिकार तत्काल हस्तान्तरण गर्न माग गर्दै मुख्यमन्त्री कार्कीले हस्तान्तरण नभए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना बस्ने बताए ।

सांसद गोम्बु शेर्पाले संघीय सरकारले प्रदेशको एकल अधिकार र संघ तथा प्रदेशको साझा अधिकार सूचीमा रहेका अधिकारहरु कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै मुख्यमन्त्रीलाई प्रदेशको अधिकार प्राप्तिका लागि तपाईंको योजना के छ भनी सोधेका थिए ।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले अधिकार दिन नचाहेको बताए । ‘हामीले हाम्रो अधिकार ल्याउनका लागि र जनतालाई डेलिभरी दिनका लागि, संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई ल्याउन मुद्दा हाल्न पनि सक्छौं’, उनले भने, ‘संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ । र, म अधिकार छिट्टै आएन भने, उहाँहरुले तदारुकता दिनुभएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसाबले गएर धर्ना दिन्छु ।’

यता, मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राख्दै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।

संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताएकाा छन् । उनले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए।

प्रतिक्रिया दिनुहोस्