Logo
Logo
मुगु हत्या प्रकरण

सँगै विदेश गएका साथीले धेरै पैसा कमाएको डाहले परिवारकै हत्या


12k
Shares

मुगु । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए ।

हत्याको मुख्य योजना सुन लुट्ने भए पनि रिसइवीसमेत भएको खुलेको छ । हत्यामा संलग्नमध्ये गोपाल बोहोरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपकसँगै वैदेशिक रोजगारीमा कतार गएका थिए । तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए ।

दीपकले भने मासिक करिब एक लाख कमाएका थिए । सोही पैसाबाट श्रीमतीलाई गहना किनिदिएका थिए । जग्गा पनि जोडेका थिए ।

गोपालले धेरै पैसा कमाएको डाहले घरमा रहेका श्रीमतीको हत्या गरेर लुटपाट गर्ने योजनासहित गोरखबहादुरलाई प्रयोग गरेर सामूहिक हत्यासम्म पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

श्रीदेवीले लगाउने सुनका गहना देखेपछि नै उनीहरूले गत जेठमै लुटपाट र हत्याको योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गई गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोपालको गोठमा लुकेर बसेका थिए ।

त्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए ।

दशैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएका थिए । त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको डिआइजी ढकालले बताए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए ।

मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए ।घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए ।

यही कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्