Logo
Logo

ठमेलमा सिसि क्यामरा जडान सुरु



काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए ।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन् ।

यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए ।

विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दैै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्