दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
‘मालुको रूखमा मालुको पात खाँदै गरेको जंगली जनावर गुणा ठानेर मैले गोली हानेको थिएँ,’ प्रहरी हिरासतमा रहेका केसीको बयान उद्धृत गर्दै ती अधिकारीले भने, ‘जब गोली लाग्यो मान्छे खसेको देखेपछि मेरो सातो उड्यो र त्यहाँबाट बन्दुकसहित भागेको थिएँ।’
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।