Logo
Logo

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’


गोकुल भुजेल

1.2k
Shares

भाेजपुर । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मुन्धुम ट्रेल गोकुल भुजेल भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यात्राका क्रममा सबै उमेर समुहका लागी सहज रुट, करिब ३१ सय मिटरको उचाइमा रहेको टेम्के डाँडाबाट देखिने मनोरम हिमालय दृष्य अवलोकन, पदमार्गमा निर्माण भएका संरचनाहरू मुन्धुम संस्कारमा आधारित संरचना, किराती संस्कार संस्कृतिको बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुल्ला विश्वविद्यालयको रुपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीहरूका बारेमा अध्ययन अवलोकन तथा नयाँ पदमार्गको रुपमा विकसित पदमार्गको विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।

खोटाङको सोकला गाउँपालिकाको तावा भञ्जयांगबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्के डाँडा, चखेवा भञ्ज्याङ, धेदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पा पोखरीबाट पुनः मैयुङ भएर एक रोत, बाघ खोर हुँदै भोजपुर टक्सार एयरपोर्ट सम्म कुल १ सय ५३ किलोमिटर लम्बाइ रहेको छ ।

उक्त पदमार्ग यात्रा पुरा गर्न नेपालीहरूलाई सरदर ५ देखी ९ दिन लाग्ने र विदेशीहरूका लागी १० देखी २० दिनसम्म लाग्ने स्थानीहरूको बुझाई छ । तर पर्यटकहरूले छोटो दुरीको यात्रा भने ३ देखी ५ दिनमै पुरा गर्ने गर्दछन् । उक्त क्षेत्रको विकासका लागी टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आफूहरूले गुरुयोजना नै बनाएर काम गर्दै आएको उल्लेख गर्दै मुन्धुम ट्रेलले पालिका क्षेत्रमा पर्यटन विकास हुनुका साथै आर्थिक, सांस्कृतिक तथा धार्मिक विकास, प्रचारप्रसार तथा अध्ययन अवलोकन गर्न टेवा पुग्ने बताए ।

अध्यक्ष बस्नेतले भने, ‘पर्यटकहरूको विकास सगैँ पालिकाले पदमार्ग क्षेत्रमा पर्यटक सूचना केन्द्र  निर्माण, गोठ स्टेको व्यवस्था, खानेपानी तथा स्थानीय परिकार एंव खाद्यान्नको व्यवस्था, लालीगुँरास लगायत फूलहरूको वृक्षारोपण गर्नुका साथै पर्यटकहरूको माग अनुसार भौतीक तथा अन्य संरचनाहरूको विकास हुदै आएको छ ।’

पूर्वकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले टेम्के मैयुङ गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा उक्त पदमार्गलाई समावेश नै गरी वार्षिक धेरै कामहरू भएका छन् । यता, भोजपुर याक चौँरी कृषक महासंघ जिल्ला अध्यक्ष तथा मुन्धुम पदमार्ग क्षेत्रका अग्रज पाविहाङ राईले पदमार्गले जिल्लामा पर्यटन प्रर्वद्धन, स्थानीय उत्पादनको उपभोग, स्थानीय स्तरमा रोजगारको सृजना, पूर्वाधार विकास लगायत थुपै कार्यहरू भएको बताए ।

उनका अनुसार पदमार्गका क्रममा यात्रा सहज, मनोरम भएसगैँ निश्चीत क्षेत्रमा हुनसक्ने जंगली जनावरको आक्रमण, पदमार्गमा रहेका आर्कषक क्षेत्र, बगैचा, संरक्षण आदि गर्न आवश्यक रहेको समेत उनले औल्याए । आन्तरिक पर्यटक विशाल तामाङले मुन्धुम पदमार्गमा पर्यटकहरूका लागी आवश्यकका अनुसार सबै नागरिकका लागी सहज बाटो, गोठ तथा होटल, खान बस्नको व्यवस्था भएको बताए ।

उनले यात्राका क्रममा बाह्य देशहरू क्यानडा र अमेरिका सँगै आन्तरिक पोखरा, इटहरी, काटमाण्डौँ लगायत क्षेत्रका पर्यटकहरू भेट्दा यात्रा थप मनोरम र आन्नदित भएको समेत उनले बताए । यता, आन्तरिक पर्यटक राजीव सापकोटाले साथीहरूसँग दशै तिहारको बिदा मनाउन सोचे भन्दा धेरै राम्रो भएको बताए । सहज पदमार्ग, मनोरञ्जनका लागी राम्रा स्थानहरू, धोडा, हिमालय दृष्य, पर्यावरणीय दृष्यका कारण आफूहरू ज्यादै खुशी भएको उनले बताए ।

साथै उनले लोकल कुखुरा, चौँरी लगायत स्थानीय खाद्यन्नहरुको परिकारको स्वाद परिक्षण गर्नुका साथै लागतको हिसाबले अन्य टे«ल जस्तो खर्चालु समेत नभएको उनले बताए । विद्यार्थी पर्यटकहरू एलिसा राई र निता दङ्गालले पढाई बिदामा सदुपयोग गर्दै मुन्धुम गएको र उक्त क्षेत्रमा अपेक्षित धेरै मनोरञ्जन तथा हिमालीय तथा वातावरणीय आनन्द लिएको बताए ।

साथै उनीहरूले आफूहरू जस्तै आउन चाहने पर्यटकहरूका लागी उक्त क्षेत्रका बारेमा देश विदेश सम्म प्रचारप्रसार गर्न आवश्यक रहेको समेत उल्लेख गरे । मानव वस्ती कम हुनुका साथै विकट मानिने मैयुङ क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेसँगै गोठवालाहरुले स्थानीय परिकार, चौरीको दूध, फापर, कोदो, गहुँका ढिँडो, लोकल कुखुरा, रायो, आलु, सिमी लगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन ।

मैयुङको हासपोखरी भन्दा माथि ढुङ्गा खर्केका मुन्धुम गोठ स्टेका सञ्चालक दुर्गाधन राईका अनुसार पदयात्रामा आन्तरिक क्षेत्रसँगै बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडा लगायत क्षेत्रका पर्यटकहरूले स्थानीय उत्पादनलाई मन पराउँदा आफूहरू दंग हुने समेत गोठस्टे सञ्चालकहरू बताउँछन् । जसले स्थानीय कृषकहरूलाई आर्थिक उपार्जनमा टेवा पुगेको समेत राई बताउँछन् ।

यता, चखेवा भञ्ज्याङमा रहेको नमुना होटल एण्ड लजका सञ्चालक विशाल राईका अनुसार पदमार्ग क्षेत्रमा दैनिक ६० जना भन्दा बढि पर्यटकहरूको आवतजावत हुने बताए । उनका अनुसार मुख्यगरी दशैँ तिहारदेखि बैशाख जेठ सम्म पर्यटकहरूको घुँइचो हुने गर्दछ । हाल घुम्न आउने विद्यार्थी, बिदा तथा मनोरञ्जन गर्न आउने मानिसहरू बढि मात्रामा रहेका छन् ।

अहिले विद्युत, खानेपानी र शौचालयको अभाव भए पनी अहिलेसम्म काम चल्दै आएको गोठ स्टे सञ्चालकका राईले बताए । कोशी प्रदेशले जारी गरेको गन्तव्य क्षेत्रमा उल्लेखित मुन्धुम पदमार्गको विकास र प्रर्वद्धनका लागी स्थानीय, प्रदेश र संघ सरकारले विशेष ध्यान दिनेहो भने भोजपुरको पर्यटन प्रर्वद्धनमा उक्त पदमार्ग कोसे ढुङ्गा बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्