
दमौली । तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन् ।
म्याग्दे गाउँपालिका–५ का सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिए । उनले यसै वर्षदेखि म्याग्देखोला छेउमा व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका थिए ।
यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ । उनले भने, ‘सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ ।’
विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेती तर्फ आकर्षित भएको उनको भनाइ छ । उनले यस वर्ष चार हजार टिटी जातको फूल लगाएको थियो । तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो ।
उनले भने, ‘यो मेरो पहिलो अनुभव हो । दसैँ तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ ।’ फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उनले विदेश जानुको साटो आफैँ स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बाए ।
उनले भने, ‘हामीजस्ता युवाले स्वदेशमै फूलखेती गर्न सक्यौँ भने फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’ दसैँ, तिहार, एकादशीमा फूलको अत्यधिक माग हुने जनाउँदै उनले बजारको व्यवस्थापन मुख्य कुरा भएको बताए । ‘फूल उत्पादन मात्रै गरेर भएन, यसको बजार व्यवस्थापन पनि हेर्नुपर्छ । फूल फुलिसकेको छ, माग पनि आउन थालेको छ’, उनले भने ।
अहिले उत्पादन भएको फूललाई चिस्यान केन्द्रमा राखेर पछिसम्म बिक्री गर्न सकिए राम्रो हुने उनको भनाइ छ । फूलखेतीबाट सन्तुष्ट रहेको बताउँदै उनले भने, ‘युवाले रोजगारी पाइन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ । यसमा सम्भावना छ ।’ पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ । पुष्पखेती विकास कार्यक्रमअन्तर्गत पौडेललाई रु ५० हजार सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।














