भोजपुर । भोजपुर नगरपालिका–८, बरबोटका ज्ञानराज विष्टको घरमा आगलागी २६ लाख ५० हजार बराबरको क्षति भएको छ ।
लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर घरमा एक्कासी आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरु जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिए । उनका अनुसार विष्टले घरमा लक्ष्मी पूजा गरेर स–परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कसी आगलागी भएको थियो ।
भोजपुर नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा ढेड घण्टापछि आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष नविन प्रधानले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक लिम्बुले जानकारी दिए ।