
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । उक्त रकम पाउनेमा वडाले सिफारिस गरेका घर हुनुपर्ने भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
त्यस्तै बैठकले संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ८ अर्ब २५ करोड र सरकारले १ अर्ब ७५ करोड थपेर १० अर्ब रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । उक्त रकम भूकम्प पछिको पुनर्निर्माण र व्यवस्थापनका लागि खर्च गरिने छ ।














