
गुलरिया । बर्दियामा दुई युवाबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका- ५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा घाइते भएका गुलरिया नगरपालिका- ६ निवासी २३ वर्षीय बरुण घिमिरेको मृत्यु भएको हो।
पुरानो विवादलाई लिएर आइतबार मध्यरातमा मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए । घिमिरेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।
बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद हुँदा २ युवाबीच कुटाकुट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको छ ।
फरार रहेका युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल मुचुल्का उठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए ।














