काठमाडौं । प्रहरीले गोली प्रहार गरेर लुटपाटको घटनामा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको गरुडा नगरपालिका–४ पानी ट्याङ्कीबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।
प्रहरीको गाडी बिग्रिएर महोत्तरीको सीमाबाट अर्को गाडीमा लैजानेक्रममा हतकडीसहित भाग्न खोजेपछि उनीहरुलाई गोली हानेर नियन्त्रणमा लिइएको डीएसपी गिरीले बताए । गोली लागेर दुबै जना घाइते भएका छन् ।
कात्तिक २० गते, सोमबार बिहान २ः ३० बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो । मूल ढोका फुटाएर करिब ६–७ जनाको समूहमा घरभित्र छिरेका लुटेराहरुले ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद १ लाख ७५ हजार रुपैयाँ चोरी गरेको थियो ।
हतियारसहितको समूहले लुटपाटका क्रममा घरमा रहेका व्यक्तिलाई समेत घाइते बनाएका थिए । डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीया शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीया खिमा चौधरी घाइते भएका थिए ।
लुटपाटको घटनापछि अनुसन्धानमा रहेको प्रहरीले विशेष सूचनाको आधारमा हिजो मंगलबार गरुडा क्षेत्रमा सर्च अभियान चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।