काठमाडौं । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको हो ।
सन् २०११ यता भारतले विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन । मुम्बईको वानखडे रंगशालामा भारतले दिएको ३९८ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन बनाए । न्यूजिल्याण्डविरुद्धको खेलमा विराटले एकदिवसीय क्रिकेटमा ५०औं शतक पुरा गरेका हुन् ।
यसअघि सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् । भारतका श्रेयस अय्यरले पनि शतक प्रहार गरे । उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे ।
ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।भारतविरुद्धको बलिङमा न्यूजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।
विश्वकप क्रिकेटको दोस्रो फाइनल बिहीबार हुँदैछ । बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल आइतबार हुनेछ । भारतले उपाधिका लागि आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्नेछ ।