काठमाडौं । नेपाल सरकारले टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरै सुनिने शब्द हो ‘भीपीएन’ । सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्दको निर्णय गरेपछि मात्रै नेपालमा यो शब्द धेरै नै सुनिन थालेको हो ।
सरकारको निर्णयपछि दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो । त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर केही असन्तुष्ट प्रयोगकर्ताले चोरबाटो हुँदै भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन् ।
कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)का महासचिव चिरञ्जिवी अधिकारीका अनुसार बुधबारसम्म करिब १ लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क छ । यो त्थयाङ्क दिनदिनै बढ्दोक्रममा रहेको उनको भनाइ छ ।
के हो भीपीएन ?
‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् ‘भीपीएन’ हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गरिदिन्छ ।
सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ ।
अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । यसका लागि हामी कुनै भीपीएन निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर ।
भीपीएनको प्रयोग मार्फत टिकटक चलाउन सकिएपनि सित्तैमा प्राप्त भिपिएन सुरक्षित नहुने कम्प्युटर ‘क्यान फेडेरेसन’का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी बताउँछन् । उनी भन्छन्, ‘निःशुल्क पाइने सबै भीपीएनहरू सुरक्षित हुँदैनन् । सित्तैमा पाइने भीपीएनबाट ¥यानरमवेयर भाइरसहरू पनि डाउनलोड हुन्छ । यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ ।’
भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका होइन ।यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ ।
अधिकारीका अनुसार सित्तैमा पाइने भीपीएनका कारण अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्छ ।
उनी भन्छन्, ‘हामीले भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।’
कसैले फेसबुक वा टिकटकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै यस्ता सफ्टवेयरहरू चलाउन नहुने उनको सुझाव छ ।