काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेको छ। सरकारले कात्तिक २७ गतेको मन्त्रिपरिषदबाट टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।
सरकारको उक्त कदमविरूद्ध अधिवक्ता सरिता थापा र अधिवक्ता डा सुनिल रंजन सिंहसहित रिट लिएर आज (शुक्रबार) सर्वोच्च पुगेका हुन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।
पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। सरकारको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।
पछिल्लाे समय टिकटकमा अनैतिक र अस्लिल हर्कत बढ्दै गएकाे भन्दै केही व्यक्तित्वहरूले टिकटक बन्द गर्नुपर्ने बताउँदै आएका थिए ।