काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वको तयारीस्वरुप गुहेश्वरीस्थित गौरीघाटमा वाग्मती नदी सिंगारिएको छ भने कमलपोखरी, नागपोखरी, मनोहरा खोलाकिनारलाई सिंगार्ने, सरसफाई गर्ने र टेन्ट लगाउने काम भइरहेको छ ।
यस वर्ष सूर्य उपासनाको लोकपर्व छठ पूजाको मुख्य दिन आइतबार मंसिर ३ गते परेको छ । त्यसका लागि भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउको काम गरिरहेका छन् । घरघरै व्रतालु शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पारिरहेका छन् ।
लोक आस्थाअनुरुप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्यलगायतको विविध थरिका कामना गर्दै छठ पूजा गरिन्छ । पूजा अवधिभर यो पर्वको विधि एवं परम्परासँग जोडिएको लोकगीत गाइन्छ र बजाइने चलन छ । बिहानको अर्घ्यलगत्तै सूर्य महिमाको कथा वाचन गरेपछि छठको समापन हुन्छ । व्रतालुले घाटमै बिहान प्रसाद खाएपछि उपवास तोड्ने चलन छ ।