काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीस्थित निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लप्सीफेदी क्षेत्रको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए । सो आक्रमणबाट तीन जना प्रहरी घाइते भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार साँझ र थप १० जनालाई शनिबार नियन्त्रणमा लिइएको हो ।
प्रहरीले स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००÷२२०÷१३२÷११ केभी सबस्टेसन निर्माण गर्न लागेको हो ।
सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार स्थानीयका जायज मागलाई पूरा गरिएको भएपनि केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको छ ।
लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी. सवस्टेसन सम्पन्न हुने चरणमा छ ।
नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी)को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत् प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।