Logo
Logo

‘सरकार अपराधीलाई छुटकारा दिन केन्द्रित भयो’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासभन्दा गुन्डाहरुको संरक्षणमा रुचि देखाएको आरोप लगाएका छन् । शनिबार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरुको विशेष भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई विकाशतर्फ नभएर गुण्डाहरुको प्रोत्साहन र अपराधीलाई छुटकारा दिनतर्फ केन्द्रित भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दापनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको बताए । ‘जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्छ । पुनरावेदन अदालतले, उच्च अदालतले त्यसैलाई दोहो¥याउँछ । सर्वोच्चले त्यही भन्छन्’ ओलीले भने, ‘तर सरकार थुन्नै नहुने भन्छ । अदालत किन चाहियो रु सरकारलाई मन परेका मान्छे थुन्न नपर्ने, मन नपरेका मान्छेहरु थुन्न पर्ने ?

यस्तै, उनले नेपालमा सक्रिय युवाको जनसंख्या पर्याप्त रहेपनि धेरैजसो निराशा रहेको बताए । अध्यक्ष ओलीले मुल्कमा ६० प्रतिशत बढी जनसंख्या सक्रिय रहेकामा ४२ प्रतिशत युवा जनशक्ति रहेको भन्दै जनशक्तिको १० प्रतिशत युवा बाहिर जाने अवस्था रहेको बताए ।

देश राजनीतिक अस्थिरता र अराजकतामा गएको बताउँदै उनले आर्थिक अवस्था ओरालोमा लागेको, सामाजिक विकृतिको शृँखला बढिरहेको सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहेको बताए । सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको उनले टिप्पणी गरे ।

अध्यक्ष ओलीले स्वास्थ्य क्षेत्रमा समेत समस्या रहेको औँल्याउँदै भने, ‘स्वास्थ्य क्षेत्रमा कुनै प्रगति छैन, अधोगतिमा लैजाने काम भइरहेको छ । नर्सहरू निष्कासित हुन्छन्, नर्सको आवश्यकता छ देशलाई तर नर्सिङ क्याम्पस बन्द गरिन्छन् र भएका नर्सहरूलाई बाहिर निष्कासित गरिन्छ । डाक्टर पढाउन पहिलादेखि पढाइरहेका केहीले पाएका छन् । तर, डाक्टर पढाउन, मेडिकल शिक्षा दिन यो देशमा पाइँदैन निषेध गरिएको छ ।’ युवा पङ्क्तिमा बढ्दो निराशा छ ।’

वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रुख काटेर जङ्गल समाप्त पार्ने काम भइरहेको उनको भनाइ छ । उनले सरकारको आलोचना गर्दै अराजकता मच्चाउनेलाई सरकारले संरक्षण गर्ने र न्याय माग्न माइतीघरमा पुगेका नागरिकलाई लछारपछार गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्