काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति टिप्प्णी गरेका हुन् ।

सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउँदै उनले भने, ‘जनताको मन जितेर पो सत्ता टिक्छ । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि ।’
उनले अहिले बजारमा २०४७ सालको संविधान फर्किने र देशमा राजतन्त्र आउँछ भन्ने हल्ला भएको बताउँदै देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले लिने दाबी बताए । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउँदै सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।














