Logo
Logo

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजी हुनुपर्छ : प्रभु साह


630
Shares

सिम्रौनगढ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेज हुनुपर्ने बताएका छन् ।

दशैं, दिपावली, छठलगायत चाडपर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया र बाराको सिम्रौनगढ नगरपालिकाको बसवरियामा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अध्यक्ष साहले भन्सार छलि नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजी हुनुपर्ने बताएका हुन् ।

‘हामीले यस बारेमा भन्सार बिभागदेखि प्रधानमन्त्री प्रचण्डसँग समेत कुरा गरेका छौं । यस्तो ब्यवस्थाले राजस्व संकलनमा समेत प्रभाव पारिरहेको छ । संसदलाई समेत जानकारी नदिइ गरिएको यो लुट ब्यवस्था खारेज गर्नुको बिकल्प छैन’ अध्यक्ष साहले भने, ‘भन्सार छलि नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको ब्यावस्था खारेज नभए नागरिक स्तरबाटै खारेज गरिन्छ ।’

भन्सार छलि नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको माग गर्दै आजपाले दशैंअघि भन्सार विभाग घेराउ गरेको थियो ।

उक्त ब्यवस्था खारेज नहुँदा सरकारले बर्सेनी अर्बौं रकम गुमाउँदै आएको छ । संसदमा कुनै कानुन नै पारित नगरी गरिएको सो ब्यवस्थाको चौतर्फी बिरोध भइरहेको छ ।

आजपा अध्यक्ष साहले यो ब्यवस्था खारेज हुनुपर्ने भन्दै संसदमा समेत आवाज उठाउँदै आएका छन् । राज्यबाट तलब सेवासुबिधा पाइरहेका कर्मचारी सुराकीकै नाममा आफँै मोटाउने यस ब्यवस्थाले सरकारको अर्बौं रकम लुटिरहेको उनको भनाइ छ ।

आजपा केन्द्रीय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाका अनुसार शुभकामना आदान प्रदान कार्यक्रम सोनरनियामा बिरेन्द्र यादव र बसवरियामा शिवनाथ साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा आजपाका स्थायी कमिटी सदस्य त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नगरप्रमुख रीना साह, बबित कुमारी साह, बिजय यादव, रन्जु कुमारी साह, ठगा दास, बालकृष्ण सापकोटा लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्