काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल हुनेछ।
जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता दिन चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।
५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।
यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहीन बनेका छन्।
एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।