Logo
Logo

‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’ वर्ल्डलिंकलाई



काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाएको छ ।

एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रममा वर्ल्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो । एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए ।

कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै यो अवार्डले सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

एसोसिओमा न्यूजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्‍गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ ।

यसअघि सन् २०१८ मा समेत वर्ल्डलिङ्‍क एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको छ । देशका ८ लाखभन्दा बढी घरधुरीलाई सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले हाल इन्टरनेटको पहुँचबाट बञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्