काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हाल कीर्तिपुर वर्न अस्पतालमा उपचार गराइरहेका मोरङ उर्लाबारी आगलागी घटनाका २५ जना घाइते बिरामीको अवस्थाबारे जानकारी गराएका छन् ।
गत कात्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसँगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनीसहित ४ प्रहरी र स्थानीय गरी २८ जना सख्त घाईते भएका थिए । तीमध्ये २५ जनाको अहिले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेकोमा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मन्त्री लिम्बूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा घाइतेहरुको उपचारमा सहजीकरण र सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्नुपर्ने विषयमा छलफल गरेका थिए ।
यसैबीच मन्त्री लिम्बूको पहलमा कीर्तिपुरमा उपचाररत जलनका बिरामीहरुको उपचारका लागि जापानको ईताबासी मेडिकल एशोसिएशन हस्पिटलका वरिष्ठ डाक्टर हिरोयुकी ईजुमी नेपाल आइपुगेका छन् । अमेरिकाबाट अर्को चिकित्सक टोली पनि आउन लागेको जानकारी प्राप्त भएको छ ।