
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश कमिटी अध्यक्षदेखि सबै सदस्यको जिम्मेवारी बाँडफाट गरेको छ । विभिन्न पार्टीबाट प्रवेश गरेका ११ जनालाई समेट्दै कोशी प्रदेश कमिटीले अध्यक्षदेखि सबै सदस्यहरूको कार्य विभाजन टुंगो लगाएको हो ।
मनोनीत हुने नयाँ सदस्यमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, व्यवसायी अरुण राठी, खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत र विराटनगरका पूर्व उपमेयर मेयर भूराज राई, रामसिंह राई लगायत रहेकाे एमालेद्धारा जारी अन्तरकमिटी निर्देशनमा उल्लेख छ ।
अध्यक्ष घनश्याम खतिवडालाई स्कुल विभागको जिम्मेवारी तोकिएको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव राजकुमार भण्डारीलाई दिएको छ । यता पूर्वमन्त्री लक्ष्मण तिवारीले प्रचार तथा प्रकाशन विभाग प्रमुख (प्रवक्ता) को जिम्मेवारी पाएका छन् ।
पदाधिकारीमध्ये उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवा राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवा लिम्बुले वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने युवा संघबाट बिदा भएका रोशन बस्नेतले विद्यार्थी इन्चार्ज र प्रभातविक्रम कटुवालले युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएका छन् ।














