काठमाडौं, २९ माघ ।
नवनियुक्त प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ठाकुर प्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उनले पदभार ग्रहण गरी निर्देशन दिएका छ ।
गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका थिए । सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरे ।
उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताएका थिए । नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयबस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्य सहित अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
गृहसचिव न्यौपानेले सुखी नेपाली, सम्बृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सम्पूर्ण सुरक्षा निकायले अझ बढी चनाखो भई लाग्नुपर्ने चर्चा गर्दै नेपाल प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्नका लागि गृह मन्त्रालय सदैव सक्रियरुपमा क्रियाशील रहेको बताए । व्यक्ति केन्द्रित प्रतिस्पर्धा भन्दा पनि व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिएका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा र्पुयाएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरे । नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताए ।
नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता व्यक्त गरेका छन् । नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास ज्ञवालीले व्यक्त गरे ।