Logo
Logo

सडक आश्रित मानवको व्यवस्थापन गरिन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन हुनेगरी कानून निर्माण गरिने बताएका छन् ।

मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रमको समापन कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउने अधिवेशनमा सो सम्बन्धी बिधेयक पेश गर्ने बताएका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमलाई अतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले सातै प्रदेशमा एक÷एक वटा सडक आश्रित मानव उद्धारका सवारी साधन उपलब्ध गराउने घोषणा गरे । सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गर्ने गरि अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियान्ताहरुलाई तत्काल आवश्यक परेको रकम सरकारले सम्बन्धित मन्त्रालयमार्फत् उपलब्ध गराउने पनि बताए । उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका बृद्धवृद्धा, युवा, बालबालिका गरी ३०४ जनाको उद्धार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्