Logo
Logo

सीमामा सडक पूर्वाधार सहज बनाएर ब्यापार सहजीकरण गर्न चीनसँग चेम्बर्सको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूतसमक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।

काठमाडौंको जमलस्थित भवनमा सोमबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हाे ।

छलफलका क्रममा राजदूत सोङ्गसँग अध्यक्ष मल्लले भने, ‘चीन नेपालको मुख्य ब्यापारिक साझेदारी राष्ट्र हो, दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरण गर्न आवश्यक छ । स्फ्रुबेसी केरुङ सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, ।’

चीनसँग ब्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली वस्तुको निर्यात वृद्धिका लागि पहल गर्नसमेत आग्रह गरे । नेपालले चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने एक अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा गर्दै आएको छ ।

नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत सोङ्गसँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउन समेत उनले आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत सोङले विद्युतीय सवारी साधनहरुलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै उनले यसलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्