Logo
Logo

व्यक्तिगत स्वार्थको लडाइँ, कसको स्वार्थ के ?


10.9k
Shares

काठमाडौं । मंसिर सात गते काठमाडौंमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । प्रसाईँ र एमालेको एकैदिन गर्न लागेको शक्ति प्रदर्शनले मुठभेडको सम्भावना समेत बढेको छ ।

प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । मंसिर सातमा प्रसाईँले देशैभरीबाट आफ्ना समर्थकहरूलाई काठमाडौं उतारेर शक्ति प्रदर्शन गर्न तयारी थालेका छन् ।

यता युवासंघ भने दुर्गा प्रसाईँ अराजकतावादी भएको भन्दै उनकै काउण्टरमा लागेका छन् । युवासंघले गर्न लागेको प्रदर्शनमा एमालेले सबै शक्ति केन्द्रित गरेको छ । दुर्गा प्रसाईँको कार्यक्रम बिथोल्न एमाले नेता महेश बस्नेतको नेतृत्वमा युवासंघ तथा एमालेको कार्यकर्ता खटिने तयारी छ ।

प्रसाईँसँगको व्यक्तिगत इगोकै कारण काउन्टर दिँदै युवासङ्घले आयोजना गर्न लागेको प्रदर्शन भ्रष्टाचार, महङ्गी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध भएको बताएको छ । सोही प्रदर्शनको तयारीका लागि एमालेले शनिवार जनसंगठन समन्वय संयन्त्रको बैठक बसालेर ओलीले युवा कार्यकर्तालाई प्रशिक्षित नै गरेको छ ।

युवासङ्घले गर्न लागेको प्रदर्शनको स्वामित्व एमालेले नै लिएको छ । सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने एमाले अध्यक्ष ओलले कार्यकर्तालाई निर्देशन नै दिइसकेका छन् । महासचिव शंकर पोखरेलले पनि अराजकताविरुद्ध भीषण संघर्ष चर्काउने उद्घोष गर्दै आएका छन् ।

केही समयअघि काठमाडौँको एक होटलमा कार्यक्रममा प्रसाईँलाई युवासङ्घले कालोमोसो दलेको थियो । त्यसपछि प्रसाईँ एमालेप्रति खनिँदै आएका छन् । त्यसको काउण्टरमा झापामा युवासङ्घको कार्यक्रम प्रसाईँ समूहले बिथोल्ने प्रयास गरेको थियो । एमालेका नेताकार्यकर्ता आएको गाडीमा तोडफोड समेत गरेको थियो ।

आफूमाथि मोसो दलेपछि प्रसाईँले एमालेसँग लडाइँ सुरु भएको बताएका थिए । त्यसपछि प्रसाईँले एमाले ओलीको लगानी कम्बोडियाको टेलिकममा रहेको भन्दै अभिव्यक्ति दिए । पार्टी र अध्यक्ष ओलीमाथि बारम्बार खनिन थालेपछि एमालेले साइबर ब्युरोमा उजुरी समेत दियो । प्रसाईँले साइबर ब्युरो पनि धाए ।

त्यसको केही समयपछि महेश बस्नेत नाममा एउटा टिकटक भिडियो भाइरल बन्यो । उक्त भिडियो दुर्गा प्रसाईँले भाइरल गराएको भन्ने बस्नेतको बुझाई छ । सोही कारणले बस्नेतले पनि आफूसँग पनि प्रसाईँका त्यस्ता सामाग्री भएको सार्वजनिक कार्यक्रमहरूमै भन्दै हिँडेका छन् ।

प्रसाईँले पनि आफूसँग महेश बस्नेतको धेरै अश्लिल भिडियो भएको बताउँने गरेका छन् । टिकटकमा भाइरल बनेको पार्ट– १ भएको आफूसँग महेशका पार्टी ७÷८ सम्म भएको दाबी गर्ने गरेका छन् ।

यसरी अहिले एकले अर्कालाई खुइल्याउने रणनीतिमा प्रसाईँ र बस्नेत लागेका छन् । यसको परिणाम स्वरुप दुई समुहले नै एकैदिन एकैठाँउमा कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

दुवै समूहले घोषणा गरेको मंसिर सातको प्रर्दशन आ–आफ्नो स्वार्थको लागि मात्रै भएको देखिन्छ । युवासङ्घले कुशासन र भ्रष्टाचारविरुद्ध भने पनि कार्यक्रमको मुख्य उद्देश्य प्रसाईँ समूहको कार्यक्रम बिथोल्ने मात्रै हो ।

त्यस्तै प्रसाईँले पनि मुक्तिको आन्दोलन भने पनि आफ्नो पक्षमा नागरिक भएको देखाएर बैंक तथा वित्तीय संस्था तर्साउन मात्रै खोजेको देखिन्छ । प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट पीडित बनेका जनतालाई मुक्ति दिलाउन भन्दै आन्दोलनको प्रचार गरेको छन् । तर, आफूले बैंकबाट लिएको सात अर्ब बढी ऋण मिनाहको लागि मात्रै यो सब गरेको देखिन्छ ।

मेडिकल कलेज बनाएर विद्यार्थीबाट आउने शुल्कले तिर्ने योजनामा प्रसाईँले ऋण लिएका थिए । तर, सरकारले उनको कलेजलाई सम्बन्धन नै नदिएपछि प्रसाईँ ऋणमा डुबेका छन् । प्रसाईँले आन्दोलनका लागि गणतन्त्र फाल्नका लागि भन्दै आर्थिक सहयोग समेत उठाएका छन् ।

युवासङ्घले कुनै नागरिकको लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघर जान लागेको होइन । यसमा एमाले अध्यक्ष ओलीकै स्वार्थ रहेको छ । एमाले कसैसँग नडराउने उद्घोष गर्दै आएपनि ओलीलाई आगामी निर्वाचनको डर छ ।

तत्कालीन प्रदेश–१ को नामकरण कोशी गरेर एमालेले पहिचान विरोधी छवि बनाएको छ । कोशीमा एमालेका नेताहरूलाई पहिचानवादीहरू लखेट्ने सम्म गरेका छन् । अध्यक्ष ओलीलाई नै पहिचानवादीहरूले गृहजिल्ला झापा, इलाम, तेह्रथुम र पाँचथरमा कालोझण्डा देखाउँदै लखेटेका थिए ।

यता, प्रसाईँको लोकप्रियताले झापामा असर पुर्याउने भनेको ओलीलाई नै हो । झापाबाट निरन्तर निर्वाचन जित्दै आएका ओलीलाई आगामी निर्वाचनमा प्रसाईँले कुनै पार्टीबाट वा स्वतन्त्र उठेपछि चुनाव प्रभावित पार्न सक्छन् भन्ने छ ।

एकैदिन एकै ठाउँमा दुई समूहले उस्तै कार्यक्रम गर्न खोजेपछि उपत्यकामा सुरक्षा चुनौति थपिएको छ । सरकारले सोमबारदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यससँगै तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

सोमबार जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ९क० बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।

एक वा त्यसभन्दा बढी समूहले एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैँझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने र हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

त्यस क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारबाही सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्ने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गरेर जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा प्रशासनले यस्तो निर्णय गरेको हो ।

युवा संघले सर्यो प्रदर्शनस्थल
एमालेको युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले सात मङ्सिरमा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन भएको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

‘राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा ७ मंसिर २०८० मा माइतीघर मण्डलामा आयोजना गरिएको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ को स्थान परिवर्तन भएको छ,’ अध्यक्ष थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले हाम्रो निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्