Logo
Logo

एक व्यक्तिसँगको भिडन्तमा एमालेको सिंगो संरचना


756
Shares

काठमाडौं । देशव्यापी बलियो जनसंगठन र संयन्त्र भएको प्रमुख प्रतिपक्ष नेकपा एमाले मंसिर ७ गते विरोध प्रदर्शनमा उत्रिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी हुन जनवर्गीय संगठन लगायत सबैमा अपिल गरेका छन् । मंसिर ७ गते नै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने घोषणा गरेका छन् ।

स्रोतका अनुसार प्रसाईँले उक्त दिन एमाले अध्यक्ष ओलीले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने भएका छन् । केही समययता एमालेका महेश बस्नेत र अध्यक्ष ओलीविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका प्रसाईँसँग तर्सेरै मंसिर ७ गतेको विरोध प्रदर्शनीमा सहभागी हुन् एमाले नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

मंसिर ७ गते ओली र प्रसाईँ आमनेसामने हुने भएकाले सरकारले शान्ति सुरक्षा कडाई गरेको छ । दुबैलाई भिडन्तमा रोक्न बेग्ला बेग्लै ठाउँमा सभा गर्न काठमाडौं जिल्ला प्रशासनले निर्देशन दिएको छ ।

एमालेले एकजना व्यक्तिसँग मनोवैज्ञानिक मुुठभेड निम्त्याउन र व्यक्तिगत टकराव, इगोलाई ध्यान दिएर सिंगो पार्टीलाई सडकमा उतार्ने कुरालाई कतिपयले अर्को अराजक भनेका छन् । लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको भन्दै ओली र उनी जस्तै नेताहरूले हुर्काएका दुर्गा प्रसाईँविरुद्ध प्रतिकारमा एमाले पार्टीलाई उचालेर होम्नु ओलीको बालहठ हो ।

ओलीले जनसंगठनको भेलामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाम नलिई मंसिर ७ मा हुने प्रदर्शनले काठमाडौंमा फोहोर मात्र हुने बताएर अघोषित रुपमा एमाले जनवर्गीय संगठनलाई प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

त्यसको अर्थ पार्टीको सम्पूर्ण शक्ति प्रसाईँ र प्रसाईँ जस्ता प्रवृत्तिमाथि प्रहार गर्दा त्यसको सन्देश प्रसाईँ र उनको प्रवृत्तिलाई बलियो बनाउन मलजल गर्छ भन्ने कुरा एमालेले बिर्सिएको छ ।

मंसिर ७ गते काठमाडौंमा एमाले र दुर्गा प्रसाईं आमनेसामने हुने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जालबाट एमालेविरुद्ध खनिएका प्रसाईंले मंसिर ७ गतेलाई शक्ति प्रदर्शनको रुपमा लिएका छन् । एमाले भने प्रसाईं समूहको प्रतिवाद गर्ने मनोवैज्ञानिक रणनीतिमा देखिन्छ ।

खासमा प्रसाईंको पूर्वघोषित उक्त कार्यक्रमले अहिले सरकार, सुरक्षा निकायदेखि प्रमुख प्रतिपक्षसम्म आतंकित भएका छन् । सुरक्षा निकायले त प्रसाईंको समूहलाई ध्वांसात्मक शक्तिको रुपमा परिभाषित गरिसकेका छन् । प्रसाईंले बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा र जनताले गरिखाने वातावरण बनाउन सरकारमाथि दबाब बढाउन काठमाडौंमा जनप्रदर्शन गर्ने मिति दसैंअघि नै सार्वजनिक गरेका थिए ।

एमाले र प्रसाईंले एकै दिन प्रदर्शन गर्ने भएपछि उनीहरू बीच टकराव हुने अवस्था सिर्जना भएको छ । प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि मंसिर ७ मै सरकारविरुद्ध प्रदर्शन घोषणा गर्यो ।

युवा संघले खासमा त्यसरी कार्यक्रम घोषणा गर्नुको कारण सरकार केन्द्रित भन्दा प्रसाईंविरुद्ध हो । एमालेले जनवर्गीय संगठनको भेला नै गरेर प्रदर्शनमा उतार्ने भएपछि प्रसाई भर्सेस एमाले भन्न सर्वसाधारणलाई कठिन छैन ।

एमाले अध्यक्ष ओली र नेता महेश बस्नेतविरुद्ध चर्काे आलोचक भएर निस्केका प्रसाईंलाई केही महिनाअघि युवा संघका कार्यकर्ताले काठमाडौंको एक होटलमा मोसो दलेका थिए । त्यसको प्रतिक्रियामा प्रसाईंका समर्थकले झापा पुगेका बस्नेतको कार्यक्रम नै बिथोल्ने प्रयास गरेका थिए । साथै बस्नेतको गाडी तोडफोड गरेका थिए । त्यतिबेला बस्नेतले प्रसाईँलाई जुुम्रा पिसेजस्तै पिसिदिने अभिव्यक्ति दिएका थिए ।

यी दुई घटनापछि एमाले र प्रसाईं आमनेसामने भएका हुन् । ओली अहिले प्रसाईंलाई तह लगाउन चाहन्छन् । अराजक भएर सामाजिक सञ्जालमार्फत प्रसाईं पनि ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् । अनि बस्नेत पनि चर्काे तारोमा परेका छन् ।

प्रसाईं र एमाले नेता बस्नेतको टकराव सामाजिक सञ्जाल र सार्वजनिक भाषणामा प्रस्ट देखिन थाल्यो । उनीहरूको बीचमा टकराव परिरहँदा सरकार भने मौन रहेको छ । युवा संघका पूर्वअध्यक्ष बस्नेत एमालेको युवा फाँटमा पकड राख्छन् ।

त्यसैकारण युवा संघको ब्यानरमा प्रसाईंविरुद्ध एमाले कार्यकर्ता उतार्ने एमालेको प्रयास देखिन्छ । एमालेभित्र प्रसाईंविरुद्ध लड्न नहुने भन्ने ठूलो पंक्ति रहेको छ र यो समूहले सार्वजनिक रुपमा मत पनि राखेको छ । तर, ओली र बस्नेतमाथि प्रसाईँले निरन्तर प्रहार गरेपछि युवा संघको योजनालाई ओलीले साथ दिन अवस्था आएको छ । प्रसाईं र बस्नेतको टकरावको एमालेले संस्थागत गरेपछि झन् व्यक्तिगत इगो बढेको महसुुस गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयमा भएको जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाले युवा संघले गर्ने भनेको मंसिर ७ को प्रदर्शनको अपनत्व मात्र लिएन, जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति प्रदर्शनमा केन्द्रित गर्ने घोषणा पनि गर्यो ।

त्यसअघि नै नागरिकलाई संकटबाट मुक्ति दिने भन्दै प्रसाईंले चामल र गुन्द्रुक लिएर काठमाडौं आउन र पानीको व्यवस्था आफूले गर्ने बताउँदै आएका छन् । ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ को ब्यानरमा १० लाख उतार्ने दाबी गर्दै माइतीघरमा शक्ति प्रदर्शनको तयारी प्रसाईं समूहको छ । तर, माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा सरकारले निषेधाज्ञा लगाउने संकेत गरिसकेको छ ।

प्रसाईँ समूहको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक अभियान चलिरहेको छ । प्रसाईंले गणतन्त्र हटाएर राजतन्त्र फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ५० लाख रुपैयाँ मागेको बताउँदै आएका छन् । उनी खुलेआम राजतन्त्रको वकालत गर्न थालिसकेका छन् ।

शुरुमा प्रधानमन्त्री प्रचण्डनिकट देखिएका प्रसाईँ पछिल्लो चरणमा एमालेनिकट देखिएका थिए । एमाले र माओवादी दुवैले मिलिमिली यस्तो पात्र र प्रवृतिलाई जोगाउन मलजल गरेका थिए । एमाले अध्यक्ष ओलीले उनलाई एमालेको साधारण सदस्य पनि नभएको बेला एकै पटक केन्द्रीय सदस्य बनाएका थिए । माओवादीबाट भड्किएर एमाले पुुगेका प्रसाईँलाई केही समय ओलीले माओवादी अध्यक्षविरुद्ध प्रयोग गरे ।

त्यसपछि झापामा चुनाव लड्न चाहेका प्रसाईँलाई ओलीले टिकट नदिएपछि उनले पूर्वराजालाई मात्र बोकेनन्, बैक तथा लघुुवित्त विरुद्धको आन्दोलनमा लागे । जसले गर्दा ऋण लिएका तर, तिर्न नसकेका पीडितहरू प्रसाईँको आन्दोलनमा सहभागी भए ।

यस्ता प्रवृत्तिलाई बढी मलजल गर्नेमा एमाले नै देखिएको छ । विगतमा परिवर्तनका संवाहकहरूलाई पाखा लगाएर पहिलो चरणमा संघीयता खारेज र त्यसपछि गणतन्त्र, धर्मनिरपेक्ष नै समाप्त पारेर राजतन्त्र फर्काउने एजेण्डा बोकेको राप्रपासँग एमालेले गत निर्वाचनमै गठबन्धन गरेको थियो । ओलीले कमल थापालाई सूर्य चिह्न दिएर चुनाव लडाएका थिए ।

विगतको निर्वाचनलाई ध्यान दिने हो भने अधिकांश स्वतन्त्र उम्मेदवारहरू व्यवस्थाको अभ्यासका क्रममा भएका त्रुटिहरूलाई उछालेर व्यवस्थामाथि नै प्रहार केन्द्रित गरिरहेका उम्मेदवारलाई स्वयं एमालेले उक्साउने काम गरेको थियो ।

अर्कोतर्फ एमालेले प्रतिनिधिसभाको निर्वाचनमा जुन गठबन्धन बनाएर चुनावमा होमिएको थियो, त्यो परिदृश्य हेर्दा पूर्वपञ्च र मण्डलेहरू प्रोत्साहित गर्न खोजेको विश्लेषण गरिएको छ । झापामा कृष्ण सिटौलालाई हराएर राजेन्द्र लिंङदेनलाई जिताउनु, घनश्याम भुसाललाई टिकट नदिएर दीपक बोहोरालाई समर्थन गर्नु यस्ता दर्जन उदाहरणहरूको फेहरिस्त रहेका बेला प्रसाईँको प्रदर्शनलाई प्रतिवाद गर्न लगाएर ओलीले लोकतन्त्रमाथि नै भद्धा मजाक गरिरहेका छन् ।

तत्कालीन समयमा मात्र नभएर सरकार बनाउने बेलामा पनि एमालेको गठबन्धन हेर्दा षडयन्त्र राम्रोसँग देख्न सकिन्छ ।

पहिलोः एमालेको गठबन्धन सामन्ती राजतन्त्रलाई अँगालेका पार्टीसँग साँठगाँठ रहेको थियो ।
दोस्रोः आफ्नै पार्टीभित्र पनि प्रगतिशील छवि भएका नेताहरूलाई पाखा लगाइएको छ ।
तेस्रोः मण्डले चरित्रमा अब्बल ठहरिएका पात्रलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट मनोनयन गरेर चरित्र उदांगिएको छ । यसको मतलव अब एमालेले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र केवल ओठेभक्तिमा परिणत गर्दैछ भन्ने नै हो ।

ओलीको रणनीतिलाई अलिकता पछाडि फर्केर हेर्ने हो भने पनि कहिँकतै प्रगतिशील पक्षधरता देखिँदैन । सुरूमा गणतन्त्र आउने कुरामै उनी विश्वस्त थिएनन् । अझ भनौँ उनी गणतन्त्रविरोधी थिए ।

उनले झण्डै दुईतिहाइ प्रगतिशील शक्तिलाई गर्भमै तुहाइदिए, दुईपटक संसद भंग गरेर गणतन्त्रात्मक संविधान मास्न खोजेका ओलीले नै राष्ट्रपतिलाई समेत बदनाम गराएर जनताको मनमा गणतन्त्रमाथि नै नकारात्मक प्रभाव फैलाउने कुचेष्टा जारी नै राखे । अहिले ओलीले प्रसाईँको प्रदर्शन प्रतिकारमा एमालेको सिंगो संगठन उतारेर आफूलाई अब्बल गणतन्त्रवादी भएको देखाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्