आजबाट हामी ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेका छौँ । ४ दशक लामो संघर्षमय यात्रामा हामीलाई सधैँ विश्वास गर्ने आमपाठकप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ ।
हरेक अप्ठेरा, कठिनाई र चुनौतीमा आमपाठकबाट प्राप्त साथ र विश्वास नै दृष्टिको सम्पत्ति हो । यसैको जगमा हामीले सत्यको उजागर गर्दै जनपक्षीय मिसन पत्रकारितालाई निरन्तरता दिँदै आएका छौँ ।
पञ्चायतविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्र, निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक संघर्षमा ‘दृष्टि’ सधैँ अग्रमोर्चामा रह्यो । राजनीतिक, सामाजिक र आर्थिक बदलावका निम्ति दृष्टिले सधैँ परिवर्तनको पक्षमा, जनताको पक्षमा वकालत गरिरह्यो, गरिरहनेछ ।
४ दशक लामो यात्रामा सधैँ सहयोग गर्ने बिक्रेता एवम् वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा शुभेच्छुक महानुभावहरूप्रति पनि आभार प्रकट गर्दछौँ ।
हामी स्थापनादेखि नै निरंकुश शासनविरुद्धको संघर्षमा अग्रमोर्चामा रह्यौँ । बहुदलीय शासन व्यवस्थामा पत्रकारिताका लागि केही अनुकुल वातावरण भयो । मिडियाहरू धेरै खुले । कति टिके, कति केही समयमै बिलाएर गए । अहिलेको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गरेको छ । तर, नेपाली प्रेसले विभिन्न कठिनाइ खेप्नुपरिरहेको छ । हामी विचलित नभइ मिसन पत्रकारितामा सक्रिय रहनेछौँ । विकृति, विसंगति र भ्रष्टाचारका विषयमा निरन्तर खबरदारी गरिरहनेछौँ ।
यतिबेला मुलुक नयाँ संकल्पको साथ अगाडि बढ्नुपर्नेमा अलमलको स्थितिमा छ । सात दशकभन्दा लामो राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्नेहरू सलबल्याउन थालेका छन् । राजनीतिक नेतृत्वको कार्यशैलीका कारण जनतामा चरम निराशा छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दुई-दुई पटक संसद भंग गरेपछि प्रतिक्रियावादीहरूले व्यवस्थामाथि औँला उठाउने ठाउँ पाएका छन् । ओलीको कदमले सरकार मात्रै ढलेन, शक्तिशाली कम्युनिष्ट पार्टी पनि विभाजित भयो भने, राजावादी र प्रतिक्रियावादीलाई मलजल गर्ने काम भयो ।
कम्युनिष्ट शक्ति बहुमतमा हुँदा पनि अरुको फेरो समाउनुपर्ने स्थिति बन्यो । आजको दिनसम्म आइपुग्दा प्राप्त उपलब्धीको रक्षा गर्ने र उपलब्धी मास्न खोज्नेबीच ध्रुविकरण हुनुपर्ने अवस्था आएको छ ।
बहुदलीय राजनीतिक प्रतिस्पर्धामार्फत समाजवादसम्म पुग्ने लक्ष्य संविधानले लिएको छ । तर, संविधानको मर्मअनुसार राजनीतिक दलहरू अगाडि बढ्न सकेका छैनन् । मुलुक दलाल पुँजीवादको दलदलमा फसेको छ । प्रधानमन्त्री, मन्त्रीहरू विचौलियाको चंगुलमा फस्दै आएका छन् ।
ऐतिहासिक जनआन्दोलन र निर्वाचनताका जनतामाझ गरेको प्रतिवद्धता नेताहरूले भुल्दा जनताको विश्वास गुम्दै गएको छ । जनताको आशा र भरोसा निराशामा बदलिदै गएको छ ।
सामाजिक सञ्जालमार्फत वितृष्णा र घृणा फैलाउने काम भइरहेको छ । सामाजिक सद्भाव भड्काउने कामसमेत हुन थालेको छ । भ्रमपूर्ण सूचनाको विगविगी भएको अवस्थामा छापा माध्यमको महत्व झनै बढेर गएको छ ।
सूचना प्रविधिको तीव्र विकासले विश्वव्यापीरुपमै छापा माध्यमका पाठक कम होलान्, तर आधिकारिक सूचना र समाचारका लागि छापा माध्यममा भरपर्नुपर्ने अवस्था विद्यमान छ । भ्रमपूर्ण, सामाजिक सद्भाव विथोल्ने गतिविधिकै कारण सरकारले टिकटक बन्द गरायो । सरकारले अन्य सामाजिक सञ्जालको समेत नियमन गर्न सकेको छैन ।
परिवर्तित व्यवस्थाको रक्षा र जनताको अवस्था परिवर्तनका लागि हामी निरन्तर खबरदारी गरिरहेका छौँ । हामी कमलको माध्यमबाट युग बदल्ने महाअभियानमा प्रद्धिवद्ध भएर लागिरहने छौँ । समाजवादी शासन स्थापनाको ध्येय पूरा गर्न पहरेदारी गरिरहेका छौँ ।
हरेक अग्रगामी मोर्चामा सहयात्री भई सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने अग्रणी माध्यमका रूपमा हामी निरन्तर जनताको साथमा हुनेछौँ । हाम्रो निष्ठा एवं प्रतिबद्धतामा कहिल्यै कमी आएन ।
अत्यन्त प्रतिकूल अवस्थामा समेत विचलित नभइ निरन्तर अगाडि बढ्दै आयौँ । पश्चगामी, प्रतिक्रियावादी शक्तिविरुद्ध हामीले निरन्तर खबरदारी गर्दै आयौँ । आगामी दिनमा पनि निरन्तर खबरदारी गरिरहने छौँ । पाठकहरू नै हाम्रो प्रेरणाका स्रोत हुन् ।
निर्भीक पत्रकारिताको जग हामी कहिल्यै भुल्ने छैनौँ । असंख्य पाठकको प्रेमले ‘दृष्टि’ देशकै लोकप्रिय साप्ताहिक पत्रिका बन्न सफल हुँदै आएको छ । प्रविधिको विकाशसँगै हामीले दृष्टिलाई पनि परिस्कृत गरेका छौँ ।
दृष्टि छापासँगै ‘डिजिटलाइज्ड’ भएको छ । सामाजिक न्याय, समानता र स्वतन्त्रताको संघर्षमा हाम्रो दृढता, अठोट र प्रतिबद्धता छ । आगामी दिनमा प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादको यात्रामा अगाडि बढ्न खबरदारी गरिरहने छौँ । र, अग्रगामी परिवर्तनको ‘मिसन पत्रकारिता’ मा समर्पित भइरहने छौँ । चेतनाको बिगुल फुकिरहने छौँ ।