Logo
Logo

परराष्ट्र मन्त्रालय र दूतावासको दुईथरी सूचनाले विपिनका परिवार अन्यौलमा



काठमाडौं । इजरायल–हमास द्वन्दपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ ।

भीमदत्त नगरपालिका–३, कञ्चनपुरका विपिन गाजाको एक अस्पतालमा सकुशल फेला परेको र सम्पर्कबिहिन रहेको अलग–अलग सूचनाले परिवार अन्यौलमा परेका हुन् ।

गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन सम्पर्कविहीन भएका थिए । करिब डेढ महिनापछि उनलाई हमास समूहले अपहरण गरेर लगेको भिडिओ इजरायलले सार्वजनिक गरेको छ ।

भिडिओको आधारमा जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो । परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए ।

तर, उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति नै जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ । यी दुईथरी सूचनाले जोशीका परिवारजनमा अन्योल बढाएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्