Logo
Logo

प्रहरी हवल्दार राई मृत भेटिए



झापा । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई आफ्नै घरमा मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर गएका थिए । घर आएर उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै-झगडा गरेको छिमेकीले बताएका छन्।

श्रीमती र छोरीहरूसँग झगडा गरेर राती सुत्न काेठामा गएका उनी फलामको बलोमा खादाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्