Logo
Logo

टिकटक प्रतिबन्धविरूद्धको रिट न्यायाधीश शर्माको इजलासमा



काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।

सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी ताेकिएपनि इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । साे रिटमाथि आजबाट सुनवाइ हुन लागेकाे हाे ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, , प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

अब सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ । सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा सर्वसाधारणले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्