काठमाडौं । नेपाल र बेलायत सरकारबीच भोलि मन्त्रीस्तरीय वार्ता हुने भएको छ ।
ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकका प्रतिनिधि र सरकारबीच भूतपूर्व गोर्खा सैनिकको पेन्सन र सुविधालगायतका विषयमा मन्त्रीस्तरीय वार्ता हुने भएको हो ।
बेलायतसँग नेपालले गोर्खा सैनिकका विषयमा गर्न लागेको यो तेस्रो मन्त्रीस्तरीय वार्ता हो । नेपालका तर्फबाट बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यले र बेलायतबाट रक्षा राज्यमन्त्रीले वार्ता टोलीको नेतृत्व गर्दै आएका छन् ।
उनीहरूले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरूलाइ ब्रिटिश सैनिकसरह समान पेन्सन पाउनु पर्ने, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकहरुको परिवारका लागि एकमुस्ट भुक्तानी दिनुपर्ने लगायतका माग राखेका छन् ।
बेलायत सरकारका तर्फबाट यसपटक पनि प्रतिबद्धता नआए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । ब्रिटिश सैनिकहरुको तुलनामा आफुहरुको पेन्सन एक तिहाई मात्रै रहेको उनीहरुको भनाइ छ। तर ब्रिटिश सरकारले भने गोर्खा सैनिकहरुप्रति कुनै भेदभाव नभएको दाबी गर्ने गरेको छ।
ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्षभन्दा पनि पूरानो छ। पहिलो तथा दोश्रो विश्व युद्ध लगायत संसारका कैयौं ठाउँमा भएका लडाइँमा गोर्खा सैनिकहरुले भाग लिएका थिए भने हजारौंले ज्यान गुमाएका थिए। १३ जना गोर्खा सैनिकहरुले ब्रिटिश सेनाले बहादुरीका लागि दिने सर्वोच्च पदक, भिक्टोरिया क्रस, पाएका छन्।